काठमाडौं । नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७७ संगीतकार सन्तोष श्रेष्ठले पाएका छन् । संगीत विधामा अन्तर्गत यो पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो । अन्यतर्फ क्रमस् रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय संगीत पुरस्कार पाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा सोमबार पुरस्कार वितरण गरिन् ।

संगीतकार श्रेष्ठले पुरस्कार पाएपश्चात अत्यन्त खुसी र अझ बढी जिम्मेवारी वोध भएको बताए । २०७७ सालकै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान भने १४ जनालाई प्रदान गरिएको छ । वाद्यवादनतर्फ नारायण दाश कार्की ढली, साउन्ड इन्जिनियरतर्फ प्रदीप उपाध्याय, अर्केष्टा संगीततर्फ राजकुमार श्रेष्ठ र शास्त्रीय संगीततर्फ प्रभु ढकाललाई सम्मान गरिएको छ ।
यसैगरी गायनतर्फ उमेश पाण्डे, कुन्ति मोक्तान र सिताराम पोखरेल तथा रचनातर्फ एसपी कोइराला, बीबी थापा, शहदेव ढुंगाना, शीला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शितल कादम्बिनीलाई पनि नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान प्रदान गरिएको छ । यस्तै नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरिएको छ ।